जीवन जिउन खानाको जरुरी छ भन्ने कुरा कसैलाई बुझाइ राख्नुपर्दैन। अनि खानालाई सजिलै लिन अचारले राम्रो भूमिका खेल्छ। अचारले तपाईलाई दुई चार गास बढी खान पनि मद्दत मिल्छ, तर मानौ कुनै व्यक्तिले अचारलाई नै भात सम्झे कस्तो होला? के कुनै मानिस अचारको भरमा मात्र बाच्न सक्ला? त्यसरी नै ख्रीष्टियनहरूको आत्मिकी भोजन वचन अध्ययन हो। यसलाई स्वाद दिन हामीसँग विभिन्न भजनहरू, विभिन्न मानिसहरूको जीवनमा परमेश्वरले गर्नुभएका गवाहीहरू छन्। ती गवाहीहरू परमेश्वरको वचन जतिको आधिकारीक त होइन तर पनि त्यसले अचारको जस्तो काम गर्नुपर्छ। यसले हामीलाई वचन पढ्ने, गहिरिएर अध्ययन गर्ने प्रेरणा मिल्नुपर्छ। तर दुःखको कुरा धेरै ख्रीष्टियनहरू गवाही, गीत भजन, चंगाइ, इत्यादिको भरमा जिउँन खोज्छन् अनि ती व्यक्तिको आत्मिकी जीवनमा थुप्रै पोलियोका लक्षणहरू देखापरी सकेका छन् अब पनि विश्वासीहरू परमेश्वरको वचनमा नफर्कने हो भने मण्डली अपांग हुनेछन्। मण्डलीका मानिसहरू कहिले जवान हुने होला? कहिले पाको हुने होला? कहिले परमेश्वरले दिनुभएको ज्ञान र बुद्धि चलाएर जिउँन थाल्ने होला? कहिले भावना शिकारबाट मुक्त हुने होला? गहिराइमा हुनेहरूले कहिले माथि उठ्न सिक्ने होला? उचाइमा हुनेहरूले कहिले रगतलाई रातो देख्ने होला? मानिसहरूले जिब्रोभन्दा शरीर महत्वपूर्ण हो भन्ने कुरा कहिले बुझ्ने होला होला? खदिलो खानेकुरा खान कहिले सिक्ने होला? के तपाई अचारको भरमा त जिउँदै हुनुहुन्न? अचारको भरमा जिउँनेहरू गमलाको बोट जस्तो हुन्छन्। दुइचार दिन सम्मेलन जान पाएन भने न्यास्रीन्छन्, चाउरिन्छन् तर भात (वचन) जिउनेहरू खोलाको किनारको रुख जस्तो हुन्छ। आफ्नो रितुमा फल दिन्छ। प्रभु नेपाली अगुवा पास्टरहरू तथा विश्वासीहरूलाई भातको रुची दिनुहोस्। अचारेहरू हुनबाट जोगाउनुहोस्।

Leave a Reply