सबै असलथोकको अन्तिम श्रोत परमेश्वर हुनुहुन्छ, त्यसैले प्रत्येक इसाइले सबै कुराको सुरुवात प्रार्थनाबाट गर्नुपर्छ। प्रार्थना इसाइहरूको दैनिक जीवन जिउँने शक्ति हो, यो स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन । सबै रोगहरू निको पार्ने पनि परमेश्वर नै हुनुहुन्छ, तर उहाँको निको पार्ने विधि हजार हुन्छन्। उहाँले निको पार्नलाई एउटा सानो बालकको प्रार्थनादेखि लिएर चर्चमा कुचो लगाउने आमाको प्रार्थना तथा चिकित्सा विज्ञानजस्ता अनेकौ माध्यम प्रयोग गर्नुहुन्छ। औषधी विज्ञान तथा सम्पूर्ण चिकित्सक समूह पनि परमेश्वरले दिनुभएको वरदान हो। डाक्टरहरूले अप्रेसन गर्ने ज्ञान र अधिकार पनि परमेश्वरबाट आउँछन् भने अप्रेसन पस्चात ती कोषहरू बढाएर निको पार्ने काम पनि परमेश्वरको नै हुन्। त्यसैले त धेरै डाक्टरहरूको एउटा नारा नै के छ भने “हामी उपचार गर्छौ, परमेश्वरले निको पार्नुहुन्छ” (We treat, God heals!)। सायद राम्रो अभिप्राय तथा स्वच्छ सेवाको हिसावले नै शहरमा सार्वजानिक सुसमाचार कार्यक्रमहरू तय गरेका होलान् तर पनि यसले धेरै गलत प्रभावहरू छरीरहेका छन्। कति धेरै अवस्थामा यी शहरमा स्टेज बनाएर हल्ला पिट्नेहरूले इसाइहरूको जीवन र सुसमाचार बाधा पुराउने काम पनि गरी रहेका छन्। अवस्य पनि धेरै इसाइहरूको विभिन्न कम्जोरीहरू छन्। इसाइहरूलाई समाज तथा राष्ट्रको नजरमा डलरको खेती गर्ने समूहको रूपमा परिचित गराउनुमा यो समूहकै प्रमुख योगदान देखिन्छ। के यी व्यक्तिहरूले स्टेजमा बाहेक अरू ठाउँमा प्रार्थना गर्न जान्दैनन्? विरामीहरू यत्रतत्र सर्वत्र छन्, जोहरू पीडामा छटपटाइ रहेकाछन्। असपतालका कोठाहरू अटी नअटी भएका छन्। के विरामीहरू यिनीहरूले बनाएको स्टेजमा आफै जानु पर्ने? निको भए “मसँग निको पार्ने वरदान छ” भन्ने अनि निको भएन भने “विश्वासको कमीले” भनी विरामीलाई दोस दिने, के यिनीहरू धामी हुन् र?
म यहाँनेरी एउटा सत्य घटना तेर्साउछु, अमेरिकाको क्यालिफोर्णिय स्थित लस एन्जल्स एयरपोर्टमा एकजना बुढी आमा विल चियरमा गुड्दै निस्कदा एकजना विश्वासी (Faith Preacher) वक्ताले आमालाई भनेछ, “आमा, तपाई हिड्न नसक्नुभएको कारण तपाईको विश्वासको कमीले हो, आज विश्वास गर्नुहोस् र विल चियरबाट जुरुक्क उठेर विश्वासमा हिड्नुहोस्।” आमाले उत्तरमा भन्नुभएछ, “वक्ताज्यू, यो विल चियरबाट उभिएर हिँड्नुभन्दा यो विल चियरमा बस्न बढी विस्वास चाहिँन्छ।” प्रिय विश्वासीहरू, पावलको शरीरमा पनि रोग थियो। उनले पनि परमेश्वरसँग रोग निको बनाइ दिनुहोस् भनी प्रार्थना गरेका थिएँ। बाइबलले भन्छ, “७ तर प्रशस्‍त प्रकाशहरूको कारण घमण्‍डले म बढ्‌ता नफुलूँ भनेर मलाई सताउन र घमण्‍डबाट रोक्‍नलाई शैतानको दूत, अर्थात्‌ एउटा काँढ़ो मेरो शरीरमा दिइयो। ८ यो मबाट हटोस्‌ भनेर मैले तीन पल्‍ट प्रभुसित बिन्‍ती गरे।” २ कोरिन्थी १२:७-८। यहाँ उनको कम्जोरी अर्थात “रोग” हटोस भनेर तीन पल्ट प्रार्थना गरेको पाइन्छ तर उनको रोग निको भएन। के अब पावलको विश्वास थिएन? आँखा नदेख्नुहुने अन्धाहरूले हृदय स्पर्षी सयौ इसाइ भजनहरू लेखेका छन्, के तिनीहरूको ख्रीष्टमा विश्वास छैन? कति महान प्रचारक तथा पास्टरहरू अपाङ्ग हुनुहुन्छ, के तिनीहरूको विश्वास छैन?
येशू संसारमा हुँदा, उहाँले मानिसहरूलाई निको पार्नु भयो, सिकाउनु भयो, र प्रचार गर्नुभयो। उहाँले गर्नुभएका ती तीनैवटा सेवाहरूलाई निरन्तरता दिनकालागि नै इसाइहरूले असपताल, शिक्षण संस्था र चर्चको स्थापना गरे। इसाइहरूले कहिल्यै पनि शिक्षा, स्वास्थ्य र सुमाचारलाई अवहेलना गर्नुहुँदैन। तर दुःखको कुरा यी “पावर”, “आगो” भन्ने समूहले यी तीनैवटा कुरालाई अपहेलना गरेको पाइन्छ। कति अवस्था त यी कुराहरूलाई बाधा पुराउने कदम उठाएको भेटिन्छ। यिनीहरूको वीचमा येशूको शिक्षाभन्दा पनि तान्त्रिक शैलीको प्रदर्शन बढी देखिन्छ, जुन कार्य “येशू” नामले न्वारण गरेको पाइन्छ। यी अभ्यासहरू बाइबलको शिक्षा र अभ्यासबाट धेरै दूर देखिन्छ। नेपालको गाउँ गाउँमा पनि इसाहरू हुनुहुन्छ भन्ने कुरा हामीले भुल्नुहुँदैन। शहरमा स्वतन्त्रता मिल्यो भन्दैमा गाउँको भाइलाई मार्ने गरेर छाडा बन्नु हुँदैन।
पावललाई परमेश्वरको निको पार्ने शैली फरक थियो, परमेश्वरले पावलाई भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” पावलले जवाफभा भन्नुभयो “ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु। १० यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍ट रहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।” २ कोरिन्थी १२:९-१०)। प्रिय मित्र, के आज तपाई आफ्नो दुर्वलतामा शक्तिशाली बन्न चाहँनुहुन्छ? यदि त्यसो हो भने उठ्नुहोस्। आफ्नो दुर्वलता परमेश्वरको महिमाकोलागि चलाउनुहोस्। तपाईलाई परमेश्वरले जुन दौड दिनुभएको छ, त्यो दौड पूरा गर्न परमेश्वरले तपाईलाई वल र शक्ति दिनुभएको होस्। हामीलाई अय्युव जस्तै जीवनको अन्तिम समयसम्म परमेश्वरमा भरोसा राख्ने, तपाई हवकुक जस्तै सबै परिस्थितिमा परमेश्वरमा रमाउन ततपर, योसेफ जस्तै इमानदार र क्षमा दिने विशाल हृदय, र दाउदलै झै परमेश्वरको मुहार खोजी गर्ने प्रेरणा मिलेको होस्।

Leave a Reply