Ideas · Philosophy · Politics

कागको गुँड र राजनीति

ND Lama June 2026
कागको गुँड र राजनीति

कागसँग लड्नु भनेको सजिलो कुरा होइन रहेछ।

सुरु–सुरुमा म कागको गुँड देखेपछि दिउँसै भत्काइदिन्थेँ। विशेष गरेर कक्षाकोठा, स्कुल प्राङ्गण र विद्यार्थीहरू बस्ने ठाउँ नजिक बनेका गुँडहरू हटाउँथेँ। मलाई लाग्थ्यो—"कागले मलाई के नै गर्न सक्छ र?"

तर पछि बुझ्दै गएँ, कागले बिर्सिँदैन रहेछ। उसले दिनभरि कराउने, उडेर पछ्याउने, सताउने र सबैलाई हैरान बनाउने रहेछ। उसलाई थाहा हुन्छ—"मेरो गुँड भत्काउने यही मान्छे हो।"

अझ कागसँग मेरो दुश्मनी गुँडबाट मात्र सुरु भएको रहेनछ। मेरो बारीको मकै खान नदिएकोमा, नासपाती खान नदिएकोमा पनि उसले मलाई पहिल्यैदेखि दुश्मन मानेको रहेछ। मैले त आफ्नो बारी जोगाएको मात्र थिएँ, तर कागको नजरमा म उसको स्वतन्त्रतामा बाधा पुर्‍याउने मान्छे बनेछु।

त्यसैले आजभोलि मैले तरिका बदलेको छु। गुँड हटाउनै पर्ने भयो भने राति हटाउँछु। ताकि कागलाई थाहा नहोस् कसले हटायो।

मेरो उद्देश्य कागसँग दुश्मनी गर्नु होइन। मेरो उद्देश्य केवल यति हो—ऊ धेरै नजिक, धेरै होचो ठाउँमा, मानिसलाई दुःख दिने गरी गुँड नबनाओस्। ऊ अर्को रूखमा जाओस्, सुरक्षित ठाउँमा बसोस्, तर घरआँगनमै दिनभरि हल्ला गरेर सताउने गरी नबसोस्।

यसबाट मैले राजनीतिबारे पनि एउटा कुरा सोच्न थालेँ।

हाम्रो राजनीतिमा कतिपय मानिसहरू कागको गुँड दिउँसै भत्काएजस्तो गर्छन्। जे गर्नुछ, खुलेआम गर्छन्। कसलाई रिस उठ्छ, कसले बदला लिन्छ, कसले दुश्मनी गर्छ—त्यति हिसाब गर्दैनन्। विशेष गरी जनजाति आन्दोलन वा पहिचानको राजनीतिमा मैले कहिलेकाहीँ यस्तै सिधोपन देख्छु। मनमा जे छ, मुखमा त्यही। लुकाउने कम। देखाएर गर्ने बानी बढी।

यो कुराको एउटा राम्रो पक्ष छ—पारदर्शिता। लुकाएर होइन, खुलेर बोल्ने। भित्र एउटा, बाहिर अर्को होइन।

तर यसको कमजोरी पनि छ। धेरै सिधा टक्कर दिँदा विरोधीले तपाईंलाई सजिलै चिन्छ। त्यसपछि ऊ तपाईंको विरुद्धमा योजनाबद्ध रूपमा लाग्न सक्छ। कागले जस्तै दिनभरि पछ्याउन सक्छ।

अर्कोतिर, कतिपय मानिसहरूको राजनीति राति कागको गुँड भत्काएजस्तो हुन्छ। काम गरिसक्छन्, तर कसले गर्‍यो थाहा हुँदैन। बाहिर मुस्कान हुन्छ, भित्र योजना हुन्छ। मुखमा "राम–राम", बगलीमा छुरा। यो प्रवृत्ति राजनीति मात्र होइन, आफन्त र समाजभित्र पनि देखिन्छ। यही कुरा सबैभन्दा दुःखद छ।

मलाई सिधा बोल्ने, लुकाउन नजान्ने स्वभाव मन पर्छ। त्यसमा इमानदारी छ। तर सधैँ सिधा टक्कर मात्र बुद्धिमानी होइन।

कहिलेकाहीँ सत्य बोल्दा पनि तरिका चाहिन्छ। संघर्ष गर्दा पनि रणनीति चाहिन्छ। न्याय खोज्दा पनि कूटनीति चाहिन्छ।

कागको गुँड भत्काउनु छ भने उद्देश्य ठीक हुनुपर्छ, तर समय र तरिका पनि ठीक हुनुपर्छ।

किनभने जीवनमा सत्य मात्र पर्याप्त हुँदैन। सत्यसँगै बुद्धि चाहिन्छ। इमानदारीसँगै रणनीति चाहिन्छ। साहससँगै कूटनीति चाहिन्छ।

नत्र हामी सही भएर पनि हार्न सक्छौँ।

@ndlama591

कागसँग लड्नु भनेको सजिलो कुरा होइन रहेछ। सुरु–सुरुमा म कागको गुँड देखेपछि दिउँसै भत्काइदिन्थेँ। विशेष गरेर कक्षाकोठा, स्कुल प्राङ्गण र विद्यार्थीहरू बस्ने ठाउँ नजिक बनेका गुँडहरू हटाउँथेँ। मलाई लाग्थ्यो—"कागले मलाई के नै गर्न सक्छ र?" तर पछि बुझ्दै गएँ, कागले बिर्सिँदैन रहेछ। उसले दिनभरि कराउने, उडेर पछ्याउने, सताउने र सबैलाई हैरान बनाउने रहेछ। उसलाई थाहा हुन्छ—"मेरो गुँड भत्काउने यही मान्छे हो।" अझ कागसँग मेरो दुश्मनी गुँडबाट मात्र सुरु भएको रहेनछ। मेरो बारीको मकै खान नदिएकोमा, नासपाती खान नदिएकोमा पनि उसले मलाई पहिल्यैदेखि दुश्मन मानेको रहेछ। मैले त आफ्नो बारी जोगाएको मात्र थिएँ, तर कागको नजरमा म उसको स्वतन्त्रतामा बाधा पुर्‍याउने मान्छे बनेछु। त्यसैले आजभोलि मैले तरिका बदलेको छु। गुँड हटाउनै पर्ने भयो भने राति हटाउँछु। ताकि कागलाई थाहा नहोस् कसले हटायो। मेरो उद्देश्य कागसँग दुश्मनी गर्नु होइन। मेरो उद्देश्य केवल यति हो—ऊ धेरै नजिक, धेरै होचो ठाउँमा, मानिसलाई दुःख दिने गरी गुँड नबनाओस्। ऊ अर्को रूखमा जाओस्, सुरक्षित ठाउँमा बसोस्, तर घरआँगनमै दिनभरि हल्ला गरेर सताउने गरी नबसोस्। यसबाट मैले राजनीतिबारे पनि एउटा कुरा सोच्न थालेँ। हाम्रो राजनीतिमा कतिपय मानिसहरू कागको गुँड दिउँसै भत्काएजस्तो गर्छन्। जे गर्नुछ, खुलेआम गर्छन्। कसलाई रिस उठ्छ, कसले बदला लिन्छ, कसले दुश्मनी गर्छ—त्यति हिसाब गर्दैनन्। विशेष गरी जनजाति आन्दोलन वा पहिचानको राजनीतिमा मैले कहिलेकाहीँ यस्तै सिधोपन देख्छु। मनमा जे छ, मुखमा त्यही। लुकाउने कम। देखाएर गर्ने बानी बढी। यो कुराको एउटा राम्रो पक्ष छ—पारदर्शिता। लुकाएर होइन, खुलेर बोल्ने। भित्र एउटा, बाहिर अर्को होइन। तर यसको कमजोरी पनि छ। धेरै सिधा टक्कर दिँदा विरोधीले तपाईंलाई सजिलै चिन्छ। त्यसपछि ऊ तपाईंको विरुद्धमा योजनाबद्ध रूपमा लाग्न सक्छ। कागले जस्तै दिनभरि पछ्याउन सक्छ। अर्कोतिर, कतिपय मानिसहरूको राजनीति राति कागको गुँड भत्काएजस्तो हुन्छ। काम गरिसक्छन्, तर कसले गर्‍यो थाहा हुँदैन। बाहिर मुस्कान हुन्छ, भित्र योजना हुन्छ। मुखमा "राम–राम", बगलीमा छुरा। यो प्रवृत्ति राजनीति मात्र होइन, आफन्त र समाजभित्र पनि देखिन्छ। यही कुरा सबैभन्दा दुःखद छ। मलाई सिधा बोल्ने, लुकाउन नजान्ने स्वभाव मन पर्छ। त्यसमा इमानदारी छ। तर सधैँ सिधा टक्कर मात्र बुद्धिमानी होइन। कहिलेकाहीँ सत्य बोल्दा पनि तरिका चाहिन्छ। संघर्ष गर्दा पनि रणनीति चाहिन्छ। न्याय खोज्दा पनि कूटनीति चाहिन्छ। कागको गुँड भत्काउनु छ भने उद्देश्य ठीक हुनुपर्छ, तर समय र तरिका पनि ठीक हुनुपर्छ। किनभने जीवनमा सत्य मात्र पर्याप्त हुँदैन। सत्यसँगै बुद्धि चाहिन्छ। इमानदारीसँगै रणनीति चाहिन्छ। साहससँगै कूटनीति चाहिन्छ। नत्र हामी सही भएर पनि हार्न सक्छौँ।

♬ original sound - Dr. ND Lama

Explore more

More reflections on politics, wisdom, and navigating life's complexities.