हारेर जित्ने समय: ट्राफिक प्रहरी र चालकबीच सम्मानको सम्बन्ध बनोस्

नेपाली · English

नेपाली

मसँग अमेरिकाको ड्राइभिङ लाइसेन्स छ। नेपालको ड्राइभिङ लाइसेन्स पनि छ, र इन्टरनेशनल ड्राइभिङ परमिट पनि छ। अमेरिकामा करिब छ वर्षमा ८० हजार माइलभन्दा बढी गाडी चलाउँदा मैले एकपटक पनि ट्राफिक जरिमाना तिर्नुपरेन। नेपालमा भने मैले अहिलेसम्म करिब छपटक ट्राफिक जरिमाना तिरिसकेको छु।

म एउटै चालक हुँ।

त्यसैले कहिलेकाहीँ म आफैँलाई प्रश्न गर्छु—समस्या ममा मात्रै हो कि हाम्रो सडक प्रणाली, ट्राफिक संकेत, नियम कार्यान्वयन गर्ने तरिका र प्रहरी–नागरिक सम्बन्धमा पनि केही सुधार गर्नुपर्ने ठाउँ छन्?

गल्ती गरेपछि जरिमाना तिर्नुपर्छ। मैले पनि तिरेको छु। नियम पालना गर्नु प्रत्येक चालकको जिम्मेवारी हो। म सडक नियम मान्छु भने त्यो केवल ट्राफिक प्रहरीको डरले होइन; मेरो कारण अर्को मानिसको जीवन जोखिममा नपरोस् भनेर हो।

तर यहीसँग अर्को प्रश्न पनि जोडिन्छ—नियम कसरी लागू गरिन्छ?

कानुन चाहिन्छ। अनुशासन चाहिन्छ। नियम तोड्ने व्यक्तिमाथि कारबाही पनि हुनुपर्छ। तर कानुन लागू गर्ने शैलीले नागरिकलाई राज्यसँग जोड्छ कि राज्यबाट टाढा बनाउँछ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ।

टिकटभन्दा ठूलो कुरा सम्बन्ध हो

ट्राफिक प्रहरी र चालकबीच कहिलेकाहीँ सामान्य कुरा पनि ठूलो विवादमा बदलिएको देखिन्छ। भनाभन हुन्छ, रिस बढ्छ, अपमानको अनुभव हुन्छ, अनि कहिलेकाहीँ परिस्थिति यस्तो मोडमा पुग्छ जहाँ सबैले पछुताउनुपर्ने अवस्था आउँछ।

कुनै टिकट, कुनै जरिमाना वा कुनै सडक विवाद मानिसको जीवनभन्दा ठूलो हुन सक्दैन।

यस्तो समयमा हामीले सोच्नुपर्ने कुरा केवल “को सही थियो?” भन्ने मात्र होइन। बरु—यो अवस्था यहाँसम्म पुग्‍न नदिन के गर्न सकिन्थ्यो?

विशेष गरी अधिकारको जिम्मेवारीमा बस्‍ने मानिसले परिस्थिति नियन्त्रण गर्ने क्षमता अझ बढी राख्नुपर्छ।

त्यसैले म ट्राफिक प्रहरी साथीहरूलाई एउटा विनम्र अनुरोध गर्न चाहन्छु—कहिलेकाहीँ नागरिक रिसायो, ठूलो स्वरमा बोल्यो वा असहयोगी भयो भने त्यसलाई व्यक्तिगत अपमान नबनाउनुहोस्।

“अब यसलाई ठीक पारेरै छाड्छु।”
“यसलाई तह लगाएरै छाड्छु।”

यस्तो मानसिकता आयो भने सानो समस्या शक्ति प्रदर्शनको लडाइँमा बदलिन सक्छ।

त्यहाँ कहिलेकाहीँ हारेर जित्‍नुपर्छ।

हारेर जित्नु कमजोरी होइन

हारेर जित्‍नु भनेको कानुन छोड्नु होइन।

हारेर जित्‍नु भनेको आफ्नो ईगोलाई केहीबेर पछाडि राखेर परिस्थिति शान्त बनाउनु हो।

चालक गलत छ भने आवश्यक कारबाही गर्न सकिन्छ। तर पहिले उसलाई शान्त पार्न सकिन्छ। उसको कुरा सुन्‍न सकिन्छ। किन रिसाएको हो भनेर बुझ्‍न सकिन्छ। सम्मानपूर्वक नियम सम्झाउन सकिन्छ।

कहिलेकाहीँ एउटा नम्र वाक्यले दस मिनेटको झगडा रोक्न सक्छ।

कहिलेकाहीँ “दाइ, तपाईंको अवस्था बुझ्छु, तर यो नियम यस्तो छ” भन्ने वाक्यले एउटा मानिसको सम्पूर्ण प्रतिक्रिया बदल्न सक्छ।

अधिकारको वास्तविक शक्ति मानिसलाई डर देखाउनुमा होइन; तनाव भएको ठाउँमा शान्ति ल्याउन सक्‍नुमा हुन्छ।

मानिसलाई Self-Dignity चाहिन्छ

मानिस केवल कानुनले चल्दैन। मानिस सम्मानले पनि चल्छ।

हरेक मानिसभित्र एउटा भावना हुन्छ—म पनि कोही हुँ। मेरो पनि आत्मसम्मान छ। मेरो कामको पनि मूल्य छ।

चालक चाहे ट्याक्सी चलाउने होस्, बस चलाउने होस्, ट्रक चलाउने होस्, माइक्रो चलाउने होस् वा आफ्नै गाडी चलाउने होस्—ऊ पनि एउटा नेपाली नागरिक हो।

उसले पनि परिवार पालिरहेको हुन्छ। ऋण तिर्दै होला। बिहानदेखि काम गरिरहेको होला। घरमा समस्या होला। यात्रुले दुःख दिएका होलान्। सडकको जामले थाकेको होला।

त्यसको अर्थ उसले नियम तोड्न पाउँछ भन्‍ने होइन।

तर त्यसको अर्थ हामीले उसलाई मानिसको रूपमा बुझ्‍नुपर्छ भन्‍ने हो।

आज हाम्रो समाजका धेरै क्षेत्रमा एउटा मानसिकता देखिन्छ—

“तँलाई ठीक पार्छु।”
“तँलाई तह लगाउँछु।”
“म को हुँ देखाइदिन्छु।”

यही मानसिकताले परिवार बिगार्छ। संस्थाहरू बिगार्छ। राजनीति बिगार्छ। प्रहरी–नागरिक सम्बन्ध पनि बिगार्छ।

मानिसलाई बारम्बार तह लगाउन खोज्दा ऊ सुध्रिन्छ नै भन्‍ने छैन। कहिलेकाहीँ ऊ अझ कठोर हुन्छ।

विद्यालयबाट मैले सिकेको एउटा कुरा

म विद्यालय चलाउँछु।

कहिलेकाहीँ विद्यार्थी रिसाउँछन्। कसैले शिक्षकसँग नराम्रो बोल्न सक्छ। कसैले मेरो अगाडि पनि असम्मानजनक प्रतिक्रिया दिन सक्छ।

त्यतिबेला म पनि रिसाएर उसँग शक्ति प्रदर्शन गर्न सक्छु।

“तिमीलाई म देखाइदिन्छु।”
“तिमीलाई स्कूलबाट निकालिदिन्छु।”
“मसँग यस्तो बोल्ने?”

त्यो सजिलो बाटो हो।

तर त्यसपछि म आफैँलाई सम्झाउँछु—यो बच्चा किन यस्तो बोल्दैछ?

उसको घरमा के भइरहेको होला? उसको मनमा के पीडा होला? उसलाई कसैले सुनेको छैन कि? उसलाई कसैले केवल खराब बच्चा भनेर मात्रै हेरिरहेको छ कि?

म उसको रिसलाई व्यक्तिगत अपमान मानेर उसैसँग लड्न थालेँ भने म उसलाई बचाउन सक्दिनँ।

तर मैले उसको कुरा सुनेँ, उसलाई बुझ्‍ने प्रयास गरेँ, अनि सीमासहित सम्मान दिएँ भने सम्भवतः एउटा जीवन बदलिन सक्छ।

यही कुरा सडकमा पनि लागू हुन्छ।

धेरै चालकहरू पहिले नै थाकेका छन्

हामीले यो पनि बुझ्‍नुपर्छ कि धेरै चालकहरू मानसिक रूपमा निकै थाकेका हुन्छन्।

सडकको अवस्था, जाम, पार्किङ, आर्थिक दबाब, इन्धनको खर्च, यात्रुको व्यवहार, ट्राफिक नियमको फरक–फरक व्याख्या—यी सबैले चालकलाई तनावमा राख्छ।

कतिपय चालकहरू ट्राफिक प्रहरी देख्‍नेबित्तिकै डराउँछन्।

कतिपयलाई प्रहरी देखेपछि “अब के हुन्छ?” भन्‍ने तनाव सुरु हुन्छ।

त्यस्तो मानिस पहिले नै बारुदजस्तो अवस्थामा छ भने एउटा अपमानजनक शब्दले उसलाई पड्काउन सक्छ।

त्यसैले ट्राफिक प्रहरी केवल नियम लागू गर्ने अधिकारी मात्र नभई कहिलेकाहीँ de-escalator, अर्थात् तनाव घटाउने व्यक्ति पनि हुनुपर्छ।

रिस थप्ने होइन।
रिस घटाउने।
आगो बाल्ने होइन।
आगो निभाउने।

ट्राफिक प्रहरीको काम सजिलो छैन

यस लेखलाई ट्राफिक प्रहरीको आलोचना मात्र भनेर बुझ्‍नु उचित हुँदैन।

मलाई थाहा छ—ट्राफिक प्रहरीको काम अत्यन्त कठिन छ।

घाममा उभिनुपर्छ।
धुलोमा उभिनुपर्छ।
पानी परे पनि सडकमा बस्‍नुपर्छ।
दिनभर सयौँ किसिमका मानिसहरूसँग व्यवहार गर्नुपर्छ।

कसैले नियम मान्छ। कसैले जानाजान तोड्छ। कसैले झूट बोल्छ। कसैले ठूलो स्वर गर्छ। कसैले राजनीतिक वा अन्य पहुँच देखाउन खोज्छ।

यस्तो कामले मानिसलाई थकाउँछ।

त्यसैले ट्राफिक प्रहरीलाई पनि हाम्रो सम्मान चाहिन्छ।

तर त्यही कठिन जिम्मेवारीले एउटा ठूलो चरित्र पनि माग्छ—व्यक्तिगत ईगो र सार्वजनिक जिम्मेवारी छुट्याउन सक्‍ने चरित्र।

कसैले तपाईंलाई नराम्रो शब्द बोल्यो भने त्यो शब्द तपाईंको पहिचान होइन।

कसैले नियम मानेन भने त्यसको अर्थ तपाईंको सम्मान घटेको होइन।

तपाईं कानुनको प्रतिनिधि हुनुहुन्छ। त्यसैले तपाईंको संयम स्वयं कानुनको गरिमा बन्छ।

छाला गैँडाको जस्तो, मुटु आमाको जस्तो

म ट्राफिक प्रहरी साथीहरूका लागि एउटा चित्र प्रयोग गर्न चाहन्छु—

तपाईंहरूको छाला गैँडाको जस्तो बाक्लो होस्, तर मुटु आमाको जस्तो कोमल होस्।

मानिसले भनेका साना–साना कुराले तपाईंको ईगो घाइते नहोस्।

तर मानिसको दुःख देख्दा तपाईंको मुटु संवेदनशील रहोस्।

कसैले तपाईंलाई चुनौती दियो भन्दैमा उसलाई तुरुन्तै शत्रु नठान्नुहोस्।

कहिलेकाहीँ सबैभन्दा रिसाएको मानिस नै सबैभन्दा धेरै सहयोगको आवश्यकता भएको मानिस हुन सक्छ।

यो सोच चालकमा पनि चाहिन्छ।

ट्राफिक प्रहरी हाम्रो शत्रु होइनन्।

उनीहरू सडक सुरक्षित राख्‍न खटिएका मानिस हुन्।

हामीले उनीहरूलाई गाली गर्ने, छल्ने, भाग्‍ने, पहुँच देखाउने वा नियमलाई खेलाँची ठान्‍ने काम बन्द गर्नुपर्छ।

सम्मान दुवैतर्फबाट आउनुपर्छ।

चालकको जिम्मेवारी पनि उत्तिकै ठूलो छ

यो जिम्मेवारी केवल प्रहरीको होइन।

हामी चालकहरूले पनि सडक अनुशासनलाई व्यक्तिगत स्वतन्त्रतामाथिको हमला जस्तो बुझ्‍नु हुँदैन।

हेल्मेट लगाउनु प्रहरीका लागि होइन।
सिटबेल्ट बाँध्‍नु प्रहरीका लागि होइन।
गतिसीमा पालना गर्नु प्रहरीका लागि होइन।
लेन पालना गर्नु प्रहरीका लागि होइन।

यी सबै हाम्रो आफ्नै जीवन र अरूको जीवन जोगाउनका लागि हुन्।

हामीले आफ्नो सोच यस्तो बनाउनुपर्छ—

“म नियम मान्छु, किनकि मेरो कारण अर्को मानिस असुरक्षित नहोस्।”

अनि प्रहरीको सोच यस्तो होस्—

“म नियम लागू गर्छु, किनकि मेरो काम नागरिकलाई सुरक्षित राख्‍नु हो; डर देखाउनु होइन।”

त्यहाँबाट सम्बन्ध बदलिन सुरु हुन्छ।

प्रहरी देख्दा सुरक्षा महसुस हुने दिन

मेरो एउटा सपना छ।

एक दिन नेपालमा प्रहरी देख्दा नागरिक डराउने होइन, सुरक्षित महसुस गरोस्।

ट्राफिक प्रहरीले चालकलाई देख्दा “आज कसलाई समात्ने?” भनेर होइन, “आज सडक कसरी सुरक्षित बनाउने?” भनेर सोचोस्।

चालकले प्रहरी देख्दा “आज फसिन्छ कि?” भनेर होइन, “यहाँ कसैले सडक सम्हालिरहेको छ” भनेर सोचोस्।

यो सम्भव छ।

यसका लागि ठूल्ठूला भाषण आवश्यक छैनन्।

सानो व्यवहार परिवर्तन नै पर्याप्त हुन सक्छ।

सम्मानपूर्वक बोल्ने।
पहिले सुन्ने।
नियम स्पष्ट पार्ने।
आवश्यक हुँदा चेतावनी दिने।
जानाजान र बारम्बार नियम तोड्ने व्यक्तिमाथि उचित कारबाही गर्ने।
तर प्रत्येक नागरिकलाई अपराधीको दृष्टिले नहेर्ने।

अन्त्यमा

हामी सबै नेपाली हौँ।

सडकमा उभिएको ट्राफिक प्रहरी पनि नेपाली हो।

स्टेयरिङ समातेर बसेको चालक पनि नेपाली हो।

दुवैको घरमा परिवार पर्खिरहेको हुन्छ।

दुवैलाई सम्मान चाहिन्छ।

दुवैलाई सुरक्षित घर फर्किनु छ।

त्यसैले एकअर्कालाई तह लगाउने होइन, एकअर्काको जतन गर्ने संस्कार बनाऔँ।

कहिलेकाहीँ अधिकार भएर पनि नरिसाउनु ठूलो शक्ति हो।

कारबाही गर्न सक्‍ने अवस्थामा पनि पहिले बुझ्‍ने प्रयास गर्नु ठूलो नेतृत्व हो।

र कहिलेकाहीँ—हारेर जित्‍नु नै सबैभन्दा ठूलो विजय हुन्छ।

जय जिम्मेवार चालक।
जय संयमी ट्राफिक प्रहरी।
र हाम्रो सडकमा डरभन्दा विश्वास, अहंकारभन्दा सम्मान, र दण्डभन्दा पहिले मानवता बढोस्।

यसै विषयको भिडियो हेर्नुहोस्

यही भिडियो TikTok र Facebook मा उपलब्ध छ। भिडियो नखुलेमा तलको लिङ्क प्रयोग गर्नुहोस्।

TikTok मा हेर्नुहोस् ↗
Facebook मा हेर्नुहोस् ↗

Winning by Losing: Let There Be Respect Between Traffic Police and Drivers

I hold a U.S. driver’s license. I also hold a Nepali driver’s license, and an International Driving Permit. In about six years in America, driving more than eighty thousand miles, I never once had to pay a traffic fine. In Nepal, I have already paid a traffic fine roughly six times.

I am the same driver.

So sometimes I ask myself — is the problem only in me? Or are there also things worth improving in our road system, our traffic signs, the way rules are enforced, and the relationship between the police and the public?

When you make a mistake, you should pay the fine. I have paid mine. Following the rules is every driver’s responsibility. And if I obey the rules of the road, it is not merely out of fear of the traffic police; it is so that another person’s life is not put at risk because of me.

But another question is tied to this one — how are the rules enforced?

We need laws. We need discipline. Those who break the rules must face consequences. But whether the style of enforcement draws a citizen closer to the state or pushes them away from it is just as important.

The relationship matters more than the ticket

Sometimes even a small matter between a traffic officer and a driver turns into a large dispute. Words are exchanged, tempers rise, someone feels humiliated, and occasionally the situation reaches a point where everyone ends up with something to regret.

No ticket, no fine, and no roadside argument can ever be bigger than a human life.

At such a moment, the thing to think about is not only “who was right?” Rather — what could have been done so that it never reached this point?

Especially the person who sits in a position of authority must hold a greater capacity to keep the situation under control.

So I want to make one humble request to my friends in the traffic police — when a citizen sometimes gets angry, speaks loudly, or becomes uncooperative, please do not turn it into a personal insult.

“Now I’ll set him straight.”
“I’ll teach him a lesson.”

If that mindset takes over, a small problem can turn into a contest over who holds the power.

There, sometimes, one has to win by losing.

Losing to win is not weakness

To win by losing does not mean abandoning the law.

To win by losing means setting your ego aside for a moment and calming the situation down.

If a driver is in the wrong, the necessary action can still be taken. But first he can be calmed. His side can be heard. One can try to understand why he is angry. The rule can be explained with respect.

Sometimes a single gentle sentence can stop a ten-minute quarrel.

Sometimes the words, “Brother, I understand your situation, but this is what the rule says,” can change a person’s entire reaction.

The real power of authority is not in making people afraid; it is in being able to bring calm to a place full of tension.

People need self-dignity

A person is not moved by law alone. A person is moved by respect too.

Inside every person there is a feeling — I too am someone. I too have self-respect. My work too has value.

A driver — whether he drives a taxi, a bus, a truck, a micro, or his own car — is also a Nepali citizen.

He too is supporting a family. He may be paying off debt. He may have been working since morning. There may be problems at home. Passengers may have given him a hard time. He may be worn out by the traffic jams.

That does not mean he is allowed to break the rules.

But it does mean we must understand him as a human being.

In many parts of our society today, one mindset keeps showing up —

“I’ll fix you.”
“I’ll put you in your place.”
“I’ll show you who I am.”

This same mindset ruins families. It ruins institutions. It ruins politics. And it ruins the relationship between the police and the public too.

Trying again and again to put a person in their place does not guarantee that they improve. Sometimes it only makes them harder.

Something I learned from running a school

I run a school.

Sometimes students get angry. One might speak badly to a teacher. One might even respond disrespectfully in front of me.

In that moment, I too could get angry and put on a show of power.

“I’ll show you.”
“I’ll have you expelled from school.”
“You dare speak to me like that?”

That is the easy road.

But then I remind myself — why is this child speaking this way?

What might be happening in his home? What pain might be in his heart? Has no one listened to him? Is everyone looking at him only as a bad child?

If I take his anger as a personal insult and start fighting him, I cannot save him.

But if I listen to him, try to understand him, and offer respect along with boundaries, then perhaps a life can change.

The same thing applies on the road.

Many drivers are already exhausted

We must also understand that many drivers are mentally very tired.

The condition of the roads, the jams, parking, financial pressure, the cost of fuel, the behavior of passengers, the differing interpretations of traffic rules — all of this keeps a driver under stress.

Some drivers become afraid the moment they see a traffic officer.

For some, the moment they spot the police, the tension of “now what?” begins.

If such a person is already in a gunpowder-like state, a single insulting word can set him off.

That is why a traffic officer must be not only an authority who enforces rules, but sometimes also a de-escalator — a person who lowers the tension.

Not to add to the anger.
To reduce it.
Not to light the fire.
To put it out.

A traffic officer’s job is not easy

It would not be fair to read this piece as merely a criticism of the traffic police.

I know — a traffic officer’s job is extremely hard.

They have to stand in the sun.
They have to stand in the dust.
They have to stay on the road even when it rains.
All day long they have to deal with hundreds of kinds of people.

Some obey the rules. Some break them on purpose. Some lie. Some raise their voice. Some try to show off political or other connections.

This kind of work wears a person down.

So the traffic police deserve our respect too.

But that very same difficult responsibility also demands a great character — the character to separate personal ego from public duty.

If someone speaks a bad word to you, that word is not your identity.

If someone did not follow the rule, it does not mean your honor has been diminished.

You are a representative of the law. So your composure itself becomes the dignity of the law.

Skin like a rhino’s, heart like a mother’s

I want to offer my friends in the traffic police one image —

May your skin be thick like a rhino’s, but may your heart be tender like a mother’s.

May the small things people say not wound your ego.

But may your heart stay sensitive when you see a person’s suffering.

Just because someone challenges you, do not immediately treat him as an enemy.

Sometimes the angriest person is the very one who is most in need of help.

This way of thinking is needed in drivers too.

Traffic police are not our enemies.

They are people deployed to keep the roads safe.

We must stop cursing them, deceiving them, fleeing from them, flaunting our connections, or treating the rules as a joke.

Respect must come from both sides.

The driver’s responsibility is just as great

This responsibility does not belong to the police alone.

We drivers, too, must not treat road discipline as an assault on our personal freedom.

Wearing a helmet is not for the police.
Fastening a seatbelt is not for the police.
Obeying the speed limit is not for the police.
Staying in your lane is not for the police.

All of these are to protect our own lives and the lives of others.

We must shape our thinking like this —

“I obey the rules, because I do not want another person to be unsafe on account of me.”

And may the police think like this —

“I enforce the rules, because my job is to keep citizens safe; not to make them afraid.”

From there, the relationship begins to change.

A day when seeing the police brings a sense of safety

I have a dream.

One day in Nepal, when a citizen sees the police, may they not feel fear but feel safe.

When a traffic officer sees a driver, may they think not “who do I catch today?” but “how do I make the road safer today?”

When a driver sees the police, may they think not “will I get caught today?” but “someone here is looking after the road.”

This is possible.

It does not require grand speeches.

A small change in behavior can be enough.

Speaking with respect.
Listening first.
Making the rule clear.
Giving a warning when needed.
Taking proper action against those who break the rules deliberately and repeatedly.
But not looking at every citizen through the eyes of a criminal.

In closing

We are all Nepali.

The traffic officer standing on the road is Nepali too.

The driver sitting behind the wheel is Nepali too.

In both their homes, a family is waiting.

Both deserve respect.

Both have to return home safely.

So let us build a culture not of putting one another in our place, but of looking after one another.

Sometimes, to hold power and yet not lose your temper is a great strength.

To be in a position to punish and yet try first to understand is great leadership.

And sometimes — winning by losing is the greatest victory of all.

Long live the responsible driver.
Long live the composed traffic officer.
And on our roads, may trust grow over fear, respect over arrogance, and humanity before punishment.

Watch the video

The same video is available on TikTok and Facebook. If a player does not load, use the link below it.

Watch on TikTok ↗
Watch on Facebook ↗

Similar Posts

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.