सबै विद्यालयहरूले प्रत्येक वर्ष शिक्षा कार्यलय विद्यार्थी प्रतिवेदन बुझँउनु पर्छ। यस पाली म अध्ययनको क्रममा बाहिर भएकोले हाम्रो एकजना सहकर्मी सरलाई उक्त कामको जिम्मा दिइएको थियो। एक शिक्षा अफिसरले भन्नुभएछ, “तिमीहरूको प्रिन्सीपल त अमेरिकामा डलर सोर्दै होला नि, होइन?” यसमा मन दुःखाउने कुरा त केही छैन यद्यपि हाम्रो शिक्षा प्रणालीमा केही खोट छ भन्ने कुरा अबस्य झल्किन्छ।
पहिलो कुरो नेपालको शिक्षा प्रणाली व्यवस्थापन गर्ने प्रणाली नै (EMIES) अरू देशले खर्च गरेर लागु गराएको प्रणाली हो। त्यसैले उहाँ स्वयम पनि डलरबाट अछुतो हुनुहुन्न। कुनै नेपाली डलरबाट अछुतो बन्न सक्दैन। कोरोनाको सुइ सित्तैमा लगाउनु भएको छ भने तपाई पनि डलरबाट अछुतो हुनुहुन्न। हुन त हाम्रो बीचमा दानको भवनभित्र, दानको कुर्सीमा बसी दानकै माइकबाट दानीको खैरो खन्ने व्यक्ति नेता भइन्छ। सम्सद भवन दानबाटै बनेको हो। भवन भित्रको कुर्सी दानबाटै आएको हो। सदनमा बोल्ने माइक दानबाटै आएको हो। त्यहाँ चलाइने टिभी दानबाटै आएको हो। तापनि पनि नेपाली टोपी ठड्याएर, दौरासुरूवाल लगाएर “हामी नेपाली स्वालम्बी, झुक्दै नझुक्ने” भन्दै कति चर्को गरी बोलिन्छ नि, होइन?
दोस्रो कुरा यदि अमेरिकाबाट कुनै नेपालीलाई पढ्न सहयोग पुराउने व्यक्ति पाइयो वा हाम्रा विद्यार्थीले बनाए चित्रकला, हस्त कला जस्ता सामाग्रीहरू किन्ने व्यक्ति खोजियो भने नेपालीको नै हित हुन्छ। अथवा कुनै अमेरिकीलाई नेपाल घुम्नलाई आमन्त्रण गर्न सकियो भने पर्यटनको विकास हुन्छ, होइन र? मित्र, जित्ने जिताउने र हार्ने हराउने सोचको विन्नता नै यही रहन्छ।
जित्ने जिताउने सोचले भन्छ, “मैले धेरै मेहेनत गर्नुपर्छ र अरूलाई पनि राम्रो गर्न, मेहेनत सहयोग गर्नुपर्छ।” यो सोचले भन्छ, “एकजना भोटेको छोरोले नेपालमा आएर केही विद्यार्थीहरूलाई पढाएको छ। केहीलाई रोजगार पनि दिएको रहेछ। यो काम राम्रो छ। हामीले सहयोग गर्नुपर्छ। यसले हाम्रो समाज राम्रो बन्दै जान्छ।”
हार्ने हराउने सोचले भन्छ, “सबैभन्दा शक्तिसाली म हुनुपर्छ। मै सबैभन्दा ठूलो। अरू सबै मभन्दा तल हुनुपर्छ। एकजना ताइ न तुइको भोटेको छोरो कहाँबाट अमेरिका गएछ। नेपाल आएर गरीबलाई लुट्न बोर्डिङ स्कुल खोलेछ। यसलाई सिध्याउनुपर्छ। यसलाई माथि आउन त दिने कुरै हुन्न।”
मलाई व्यक्तिगत रूपमा शिक्षाका सरहरुले राम्रो सहयोग गर्नुभएको छ। म उहाँहरू प्रति आवारी छु। यद्यपि हाम्रो शिक्षा प्रणाली, निजामति कर्मचारी तथा हामी नेपालीमा हार्ने, हराउने सिध्दान्तको हावी छ। हामी अस्तित्ववादी सिद्धान्त प्रेरित भएकोले अचेतनमनबाट डलर सोर्ने उक्ति बाहिर बगेको हो।
अब हाम्रो बीचमा जित्ने जिताउने विचार हावी हुनु पर्छ। शिक्षकरूले कसरी विद्यार्थीलाई जाँचमा फेल गराउने भनी सोच्नुको सट्टा “विद्यार्थी असफल हुनु म असफ हुनु हो” भनी सोच्ने दिन आएको छ। कसरी नेपालमा धेरैभन्दा धेरै रोजगारको विकास गराउने भनी सोच्ने दिन आएको छ। कसरी नेपाली फस्टाउने वातावरण बनाउने होला भनी कसरत गर्ने समय आएको छ। नेपालमा उत्पादन बढाएर कसरी आयत घटाउने र अन्तराष्ट्रिय सम्बन्ध बढाएर निर्यात बढाउने?, कसरी धेरै विद्युत उत्पादन गर्ने? कसरी विद्युतीय उपकरणहरू उत्पादन गर्ने? भनी विचार पुराउने बेला आएको छ। कि कसो, सर?

Leave a Reply