व्यक्तिगत रूमा मुक्ति पाएका इसाइले आत्माहत्या नगर्नु पर्ने हो जस्तो मलाई लाग्छ, तर पनि लामो समयसम्म असल सेवामा समय बिताएका पास्टर अगुवा, लेखक जस्ता इसाइहरूले पनि आत्माहत्या गरेको मैले देखेको छु। ती मध्ये कतिजना मेरा नजिकका मित्रहरू पनि हुनुहुन्थ्यो, कतिलाई गुमाउँदाको पीडा आफै भोगेको छु। उहाँहरूको विश्वासमा संका गर्ने कुनै ठाउँ नै थिएन। ती  व्यक्तिहरू प्रभु येशूले “नजन्मिएको हुन्थ्यो” भनी विलौला गरिएका यहुदा इस्करयोती जस्तो नक्कली इसाइ पनि होइन। इस्करयोती नाम पाएको छ तर मुक्ति पाएको इसाइको रूपमा लिन सकिने धेरै बाइबलीय आधारहरू भेटिन्छ। आत्माहत्या गरिएका ती मित्रहरू कहाँ गएँ होला भनी लामो समयसम्म मैले अलमल्लको जीवन जिएको छु।
तर आज त्यो अलमल्लको अवस्थामा छैन। मलाई प्रभु येशूले भन्नुभएको बाइबलका खण्डहरूले अपार शान्ति मिलेको छ। यी विषयहरूको खण्डन गर्दैगर्दा मैले मेरो दिमागी तर्क गरीरहेको छैन तर लामो समयसम्म मेरो अग्रज पास्टर अगुवाहरूले मेरा ती मित्रहरू नरक नै गए भन्ने उक्तिबाट भयभित मेरो हृदय बोल्दैछ। भयमा जिउँदा जिउँदा येशूले दिनुभएको अपार शान्तिको अनुभव बोल्दैछु। प्रभु येशूले भन्नुहुन्छ, “म अनन्‍त जीवन दिन्‍छु, र तिनीहरू कहिल्‍यै नष्‍ट हुनेछैनन्‌, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।” (यूहन्ना १०:२८)। येशूले भन्नुभएका यी वचनहरूलाई केलाएर हेरौँ। कसैको नयाँजीवन आत्माहत्याको पापमा टुङ्गिन्छ भने त्यसलाई अनन्त जीवन भन्न मिल्दैन। मुक्ति पाए पनि कसैले आत्माहत्या गरे नरक जान्छ भनी विश्वास गर्ने हो भने येशूले भन्नुभएको “कहिल्यै नष्ट हुनेछैन” भन्ने कुरा झुट हुन जान्छ। येशूले भन्नुहुन्छ, “कसैले मेरो हातबाट खोसी लैजानेछैन।” तर हामीले उत्तर दिइरहेका हुन्छौँ कि आत्माहत्याले मुक्ति तपाईको हातबाट पनि खोसेर लान सक्छ। के एउटा साँचो मुक्ति पाएको व्यक्ति फेरी नरक जान सम्भव छ? के यो विचार बाइबल विरूद्ध भएन र? यो विचारले वास्तवमा येशूको क्रूसको खिल्ली उडाइ रहेको हुन्छ। एउटा साँचो मुक्ति पाएको इसाइको सुरक्षा येशूलेमात्र नभएर पिताको हातमा सुरक्षित छन्। बाइबलले भन्छ, “पिताको (परमेश्वर) हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्‌।” यूहन्‍ना १०:२९। बाइबल भरी नै तपाईले, येशूमा भरोसा राखेको खण्डमा हाम्रो मुक्तिमा हुने स्थायीपनको विषयमा भेटाउनुहुन्छ। जस्तैः २ कोरिन्थी १:२२ ले भन्छ, “उहाँले हामीमाथि आफ्‍नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।” कलस्सी ३:३ ले भन्छ, “तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकाइएको छ।” अब ख्रीष्टमा हुनेहरूलाई कुनै दण्डको आज्ञा पनि छैन (रोमी ८:१)। अब तपाई के विश्वास गर्न छान्नुहुन्छ, त्यो तपाईको कुरा हो। तर मचाहिँ सृष्टिकर्ता येशूले दिनुभएका यी माथिँका प्रतिज्ञाहरूमा विश्वास गर्छु। अनि उहाँमा ढुक्क बन्छु।

अहिलेसम्म तपाईहरू जस जसले मुक्ति पाएका इसाइले पनि आत्माहत्या गरेको खण्डमा नरक जान्छ भनी रहनुभएको छ, तपाईहरू कसैले पनि बाइबललाई केलाएर देखाउनुभएको छैन। तपाईहरू कतिले नामधारी नक्कली इस्करयोतीलाई देखाउनुभएको छ। इस्करयोती नरक गए त्यसैले आत्माहत्या गर्ने व्यक्ति नरक जान्छ भनि रहनुभएको छ। तर यसमा दुइवटा समस्याहरू छन्। १. पहिलो कुरो, इस्करयोतीले मुक्ति पाएको कुरामा हामी पक्का छैनौ। इस्करयोतीले मुक्ति पाएको भए प्रभु येशूले उनकोलागि “नजन्मिएको भए हुने थियो” भनी विलौना गर्नुहुन्न थियो। उनले पनि पत्रुसले झै आफ्नो पाप स्वीकार गरेर क्षमामाग्न येशूकहाँ फर्किन्थ्यो। त्यतीमात्र होइन इस्करयोती जस्तै नक्कली इसाइलाई जनाउन बाइबलमा “गहुँ” र “सामा”, “भेडा” र “बाख्रा”, “गहुँ” र “भुस” जस्ता धेरै दृस्टान्तहरू पाइन्छ। २. दोस्रो कुरो, इस्करयोती नरक नै गए भनी किटानसाथ भन्ने बाइबलीय आधार छैन।
तपाईहरु कतिले १ कोरिन्थी ३:१६-१७ देखाएर पवित्रआत्माको मन्दिर भत्काउने नरक जान्छ भन्नुभएको छ। यसमा पनि केही समस्याहरू छन्। १.  पहिलो कुरो, यो खण्डले मुक्ति गुम्ने कुरा होइन उनीहरूको कामको इनाम गुम्ने कुरा गरी रहेको छ। यो कुरालाई १ कोरिन्थी ३:१३-१५ ले स्पस्ट पार्छ। २. त्यतिमात्र नभएर यो खण्डले बास्तवमा इनाम गुमेतापनि व्यक्तिको मुक्ति नगुमेको पक्का गर्दछ। १ कोरिन्थी १५ स्पस्ट बताउँदछ, “कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ।” तर आफैचाहिँ (व्यक्ति) आगोबाट उम्केछै बाँच्नेछ भन्ने पदले स्पस्ट पार्छ कि उनको मुक्तिमा असर परेको छैन। त्यसैले १ कोरिन्थी ३:१६-१७ को आधारमा आत्माहत्या गरेको मानिस नरक जान्छ भनी सिकाउँनु बाइबलीय मान्न सकिदैन।
तपाईहरू धेरै जसोलेचाहिँ, ख्रीष्ट येशूलाई आफ्नो जीवनमा नस्वीकार गरी छाडा जीवन जिउँने मानिसहरूलाई नरकमा हुने दुःख बताउने बाइबलका खण्डहरू तथा पदहरू देखाएर ठोकुवासाथ भन्नुभएको छ कि, “यी हत्यारा”हरूको दसा यस्तो हुन्छ। ती खण्डहरू सबै यहाँ उल्लेख गर्न र व्याख्या गर्न सम्भव छैन। ती खण्डहरूमध्ये एउटा जटिल खण्डलाईचाहिँ मैले यहाँ लिएको छु। हिब्रू १०:२६-२७ “२६ किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन, २७ तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ।” यो खण्डचाहिँ विशेष गरेर आत्माहत्या गरेको खण्डमा अब इन्साफ बाहेक केही रहन्न भनी बताउँनलाई प्रयोग गर्नुभएको छ। यो विचारलाई पनि बाइबल सम्मत मान्न सकिदैन। पहिलो कुरा, यो खण्डले येशूकोबारेमा सुनेर पनि उहाँलाई आफ्नो जीवनको प्रभु भनी स्वीकार गर्न इन्कार गर्ने व्यक्तिहरूको विषयमा बताइरहेको छ। दोस्रो कुरा, यी व्यक्तिहरूले मुक्ति (नयाँजन्म) पाएको छैन। त्यसैले यो खण्डको आधारमा आत्माहत्या गर्ने व्यक्ति नरक जान्छ भन्न मिल्दैन।
अन्तमा भन्न चाहँन्छु कि प्रिय अगुवाजनहरू, जो व्यक्तिको आफन्तहरु दुर्भाग्यवस आत्माहत्या गर्न पुगे। तीनीहरूलाई मलाई जस्तै तर्साएर नराख्नुहोस्। वचनमा डोराउनुहोस्। प्रिय विश्वासीजनहरू, प्रभुयेशू भलो हुनुहुन्छ। उहाँ सक्तिसाली हुनुहुन्छ। आफ्नो मगज, तथा अन्य कुरा होइन मलाई उत्साह मिलेका प्रभु येशूले भन्नुभएका माथिका वचनहरूमा विश्वास गर्नुहोस्। “म अनन्‍त जीवन दिन्‍छु, र तिनीहरू कहिल्‍यै नष्‍ट हुनेछैनन्‌, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन। पिताको (परमेश्वर) हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्‌।” यूहन्‍ना १०:२८-२९। परमेश्वरले तपाईलाई प्रसस्त आशिष देऊन्।

१. आत्माहत्याले पनि हाम्रो उद्वार गुम्दैन

२. मुक्ति पाइसकेकाले परमेश्वरको मन्दिरलाई नास पारे नि स्वर्ग जाने पक्का

३. मुक्ति नपाएकाले पनि आश्चर्य काम गर्न सक्छ

४. मुक्ति पाएको इसाइले आत्माहत्या गरे नरक जान्छ भन्नु बाइबलीय हो?

५. हामी स्वर्ग जाने एउटै कारण प्रभु येशू हुनुहुन्छ

 

Leave a Reply