विद्यार्थीको मनमस्तिष्कमा स्याउ (बानी) र हातमा सुन्तला (सीप) फलाउनु शिक्षा हो। जुन फलले विद्यार्थीहरूलाई संसार अवलोकन गर्न, यसको वास्तविकता बुझ्न र मूल्याङ्कन गर्न सक्षम बनाउँछ। ताकि विद्यार्थीहरूले वास्विकतालाई महसुस गर्न सकुन्, प्रयोग गर्न सकून् र संसारको हितको लागि व्यक्त गर्न सकून्।

हाम्रो लागि स्याउ तथा सुन्तला फलाउन नदिने महा खल नायक (गुण्डा) परीक्षा नियन्त्रण कार्यलय हुन भने स्याउ र सुन्तलाको महामारी रोग वर्तमान परीक्षा प्रणाली हुन्। यसले न विलार्थीको मनमस्तिष्कमा स्याउ फल्न दिन्छ, न कि हातमा सुन्तला फल्न दिन्छ।

साँचो स्याउ र सुन्तला फलाउने हो भने यसको जिम्मा कृषकको हातमा हुनुपर्छ, तर दलालको (बिचौलियाको) हातमा होइन। साँचो कृषक शिक्षक हुन भने, खेती गर्ने जग्गा शिक्षण संस्था हुन् र परीक्षा नियन्त्रण कार्यलय कमिसन खाएर भारतीय गोलभेडा भित्राउने बिचौलिया हुन्।

तर पनि दुःखको कुरा हाम्रो सरकार तथा अभिभावक यस दलालको दास भएको देखिन्छ। यसको अन्धभक्त भएको देखिन्छ। परीक्षा नियन्त्रण कार्यलयले तोकिएको नक्कली स्याउ तथा सुन्तला फलाउनको लागि, अर्थात् एसईई पास गराउनको लागि जग्गा बेचेर ट्युसन पढाएको देखिन्छ। चिट चोरी गरेको देखिन्छ। एसईईको नतिजा लिएर परीक्षा नियन्त्रण कार्यलयले तोकिएको नक्कली स्याउ तथा सुन्तला फलाउनको लागि समाजमा तनाब भएको देखिन्छ। मेरो घरमा, मेरो छोरोलाई एसईई छोडेर अरू केही पढाउन भन्दा, मेरी श्रीमती एसईईको लागि तम्सी रहेकी छिन्। एसईई बिना जिन्दगी चल्दैन हो?
कोचिङ, ट्युसन तथा ब्रीज कोर्सबाट स्याउ सुन्तला फलाउन खोज्नु भनेको मरेको रुखमा नक्कली स्याउ सुन्तला बाधे जस्तै हो। हेर्नलाई काम लागे पनि खानलाई काम लाग्दैन। फलस्वरूप, सन्तानले हामीलाई छोडेर जानेछन्। जुन वर्तमान एयरपोर्टमा हेर्न गए हुन्छ।

कृपया मेरो शिक्षाको शैक्षिक परिभाषा बुझ्ने कोशिस गर्नुहोला
शिक्षा भनेको विद्यार्थीको मनमस्तिष्कमा एउटा बानीको विकास गर्नु र हातमा सीप सिकाउनु हो। जुन बानी तथा सीपले विद्यार्थीहरूलाई आफ्नो संसार हेर्न, संसारको वास्तविकता बुझ्न र मुल्याङ्कन गर्न सक्षम बनाऊन् ताकि विद्यार्थीहरूले वास्तविकतालाई महसुस गर्न, आफ्नो जीवनमा लागु गर्न, तथा संसारको हितको लागि व्यक्त गर्न सकून्।
यसको लागि म दुईवटा उदाहरण—राम्रो फल तथा नक्कली फलको उदाहरण दिन चाहँन्छु।

मनमस्तिष्क तथा हातमा राम्रो फल फलेको उदाहरण: अनिल केशरी (नबील व्याङ्कका एकताकाको सीईओ)। जसले ठिक तरीकाले संसारको अवलोगक गर्छ अर्थात पैसा कसरी कमाउन सकिन्छ भनी अवलोकन गर्छ, यसको वास्तविकतालाई बुझ्छ र मूल्याङ्कन गर्छ। त्यसलाई महसुस गर्छ, आफै आफ्नो जीवनमा लागु गर्छ र नबील व्याङ्क छोडेपछि फेरी वितीय क्षेत्रबाट अरूलाई कसरी टेवा पुर्याउने भनेर युट्युब तथा अन्य माध्यमबाट अरूलाई सिकाउँदै हिड्छन्। यस्तै विनोद चौधरीलाई लिन सकिन्छ।

मनमस्तिष्क तथा हातमा नराम्रो फल फलेको उदाहरण: हाम्रो देशका नेता। यिनीहरूको संसार अवलोकन गर्ने आँखा छुचुन्द्रोको जस्तो लाग्छ। छुचुन्द्रोले धमिलो देखेझैं सबै संसार धमिलो देख्छन् – एकातिर संसारको वास्तविकता बुझ्न सक्दैन भने अर्कोतिर मूल्याङ्कन गर्ने सीप पनि बकुलाको जस्तो। स्वर्गमा गड्यौला खोजेझैं जहाँ पनि पैसामात्र खोज्छन्। सबैको मुखमा देश लुट्ने झुण्डिएको छ, देश बचाउँछु भन्दै उफ्रेको छ तर आफूले पजेरो चढ्न छोड्ने होइन। गरीब बन्ने चाहना भएको व्यक्ति पनि पाइन्न तर धनीलाई घृणा गर्न पनि छोड्ने होइन। अनि व्यवहार बाँदरको जस्तो। महसुस गर्ने, जीवनमा लागु गर्ने र संसारको हितको लागि व्यक्त गर्नुको सट्टा अर्कालाई कसरी फसाउने मात्र सोच्छन्। प्रायः सबै कानून घर कसरी बनाउने होइन, तर अरूको घर कसरी भत्काउने भन्ने किसिमको बनाएको देखिन्छ। अरूलाई कसरी फसाउने र जेल हाल्ने भन्ने किसिमको देखिन्छ।

हाम्रो मुलुक बन्नलाई शिक्षा सप्रिनुपर्छ। शिक्षा सप्रिनका लागि विचौलिया दलाल (परीक्षा नियन्त्रण कार्यलय) मर्नु पर्छ र कृषकलाई सशक्तिकरण गर्नुपर्छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.