त्यान्द्रो तान्ने र आगो झोस्ने

by Dr. ND Lama

(कर्मशील नेपाली र ताली बजाउने समाजतर्फ)

१) मेरो वर्क–फ्लो: साधन सानो, गति ठूलो

अहिले म आफ्ना सबै किताबहरू Google Docs मा लेख्छु। किताबहरूको सूची भने Google Sheets मा व्यवस्थित गर्छु, र वास्तविक लेखाइका फाइलहरू Google Docs मै राख्छु।

मैले सबै फाइलहरू Google Docs मै राख्छु।
त्यसका hyperlink हरू Google Sheets मा हुन्छन्,
त्यसैले फाइल खोज्न कत्ति पनि झन्झट हुँदैन।

यी दुवै टुलहरू फ्रि छन्, फोनमै सजिलै चल्छन्, र जहाँ–जहाँ छु त्यहीँबाट काम गर्न मिल्छ। Google Docs को देब्रेपट्टि प्रत्येक chapter अलग–अलग ट्याबमा देखिने भएकाले लेख्दा, सम्पादन गर्दा र सन्दर्भ खोज्दा navigate गर्न एकदमै सजिलो हुन्छ।
लेखाइलाई बोझ होइन, बग्ने प्रक्रिया बनाउन मैले यही वर्क–फ्लो रोजेको हुँ।


२) अहिले हामी दुईवटा काममा व्यस्त छौँ

क. त्यान्द्रो तान्ने: पानी बग्न दिनु

म जंगलमा हुर्केको मान्छे हुँ। साथीहरूसँग खेल्नेभन्दा पनि खोल्सातिर जाने, शिकार गर्ने, र कतै लहरा वा त्यान्द्रोले पानीको बाटो छेकेको देखेपछि त्यो हाँगा वा त्यान्द्रो पत्ता लगाएर स्वाट्टै तानेर झिक्नु, अनि फेरि पानी बगेको हेर्नु—त्यो साह्रै आनन्दको कुरा हुन्थ्यो

आज पनि हामी त्यही काम फरक रूपले गरिरहेका छौँ। लेखकहरू, PhD का विद्यार्थीहरू, र धेरै मित्रहरू साना–साना त्यान्द्रोमा अड्किएर अघि बढ्न नसकेको देखिन्छ—कहिले फाइल मेनेजमेन्टमा, कहिले आत्मविश्वासमा, कहिले प्रणालीको डरमा।
जब ती त्यान्द्रो तानेर हटाइन्छन्, विचार फेरि बग्न थाल्छ, लेखाइ चल्न थाल्छ, र मान्छे आफैँ अगाडि बढ्न थाल्छ।

नेपाली उन्नतिलाई रोकिरहेका दुई ठूला त्यान्द्रो हामीले स्पष्ट देखेका छौँ—
(१) स्कुल–कलेजको परीक्षा प्रणाली, र
(२) लोकसेवा प्रणाली

यी त्यान्द्रो तान्नकै लागि हामीले Beyond Exams लेख्यौँ।
Gatekeepers of Failure, From Control to Empowerment, र Life Robbed by Education भने अझै लेख्न बाँकी नै छन्।


ख. आगो झोस्ने: हिम्मत बाल्ने काम

त्यससँगै, हामी केही मित्रहरूसँग मिलेर आगो झोस्ने काम पनि गर्दै आएका छौँ—पढाइ (PhD), लगानी (प्रमोटर शेयर), र व्यवसायतर्फ अग्रसर हुन एक–अर्कालाई हौसला जगाउँदै।

हाम्रो लक्ष्य स्पष्ट छ—
२०३५ सम्म कम्तीमा १५ जना PhD गरेका मित्रहरू३० भन्दा बढी करोडपति मित्रहरू उत्पादन गर्नु।

डिग्री र धन आफैँ अन्तिम लक्ष्य होइनन्।
ती त स्वतन्त्र सोच, जोखिम लिन सक्ने साहस, र अरूलाई रोजगारी दिन सक्ने सामर्थ्यका परिणाम हुन्।


३) अहिले किन यी किताब?

अझै धेरै किताब लेख्न बाँकी छन्, तर अहिलेको नेपालमा हामीले एउटा गहिरो रोग देखिरहेका छौँ—
“केही छैन, केही हुन्न” भन्ने मनोरोग।

त्यही रोगलाई निको पार्न,
एक–अर्कालाई दोष दिनु होइन जतन गर्न,
निराश होइन कर्मशील बन्न,
र सफलतामा खुट्टा तान्ने होइन ताली बजाउन सिक्न,
हामी अहिले कर्मशील नेपालीताली बजाउने समाज लेख्दैछौँ।

यी दुई किताब २०२६ भित्र सकाएर,
त्यसपछि हामी फेरि पुराना लेखन परियोजनातर्फ फर्किन्छौँ।


४) ढाकर, खच्चर र नेपालको कर्मचारी तन्त्र

धरानदेखि खाँदवारीको बाटोमा ढाकर बोकेर हिँड्नेहरूले खच्चरको मुन्टो बटार्थे, अक्करको भीरमा लड्थे।
किनकि उनीहरूले यो बुझ्न सकेनन्—बाटो बनेपछि ठाउँको उन्नति हुन्छ, भारी बोक्नेभन्दा सजिलो र धेरै आम्दानी हुने काम पाइन्छ।

आज पनि ठ्याक्कै यही मानसिकता नेपालको कर्मचारी तन्त्रमा देखिन्छ।
महाबीर पुन,
कुलमान घिसिङ,
टंक सुवेदी,
दिपाक राज राइ,
एन.डी. लामा
जस्ताको खाटी निमोठिन्छ—

किनकि उनीहरू भारी बोकेर हिँड्दैनन्,
बाटो बनाउँछन्।
नेपालीको उन्नतिका लागि
ज्यान दिएर लाग्छन्।
नेपालको कर्मचारी तन्त्रलाई
अझ इज्जतदार र जिम्मेवार बनाउन चाहन्छन्।


५) अन्त्यमा (Punch line)

कसैको बाटो छेकिएको देख्दा
हामी त्यान्द्रो तान्छौँ
कसैको मन थाकेको देख्दा
हामी आगो झोस्छौँ

भारी बोकेर हिँड्नेहरू इतिहास हुन्,
अब बाटो बनाउनेहरूको समय हो।

Be the first to comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.