नेपालको परीक्षा प्रणाली ठीक ज्वरो ननाप्ने थर्मोमीटर
COVID-19 महामारीको चपेटामा नेपाल लकडाउन भएको पनि ४ हप्तामा लागेको छ। लकडाउनसँगै विद्यालय तथा कलेज स्तरका सबै परीक्षाहरू पर सार्नु पर्ने बाध्यता आएको हो। सरकारको अठोट लक्डाउन खुल्ने वितिकै परीक्षा गर्ने नै देखिन्छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलिया भन्नुहुन्छ, ‘हामीले अहिलेसम्म परिक्षा नगर्ने ढंगले सोचेका छैनौं ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षा कहिले र कसरी गर्ने भन्ने विषयमा राय दिन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा कार्यदल नै बनाइएको जानकारी छ। निजी विद्यार्थीहरूको छाता संगठन प्याब्सनले पनि लकडाउन खुलेको १० दिनपछि एसईई परीक्षा गर्न सकिने राय दिएको छ।[1]
यसरी अठोटकासाथ लागि रहनु असल कार्य हो। तापनि कति पटक फरक ढंगले सोच्नु राम्रो हुन्छ। के यसरी राष्ट्रिय स्तरमा गरिने परीक्षा प्रणालीमा यति ठूलो धनराशी खर्च गर्नु उचित छ? के यस्ता खाले परीक्षा पद्धतिमा यति धेरै मेहेनत तथा स्रोत साधन खन्याउनुको कुनै विकल्प छैन? के यो राष्ट्रिय स्तरको परीक्षा प्रणालीले विद्यार्थीको तहगत क्षमताको साच्चिकै मुल्यांकन गरीदै छ त? के स्तरमापन तथा सिकाइ क्षमता मापनकोलागि विशेष उपाय व्यवस्थापन गर्न सकिंदैन? यस्ता प्रश्नहरूमाथि पनि मनन गर्नु पर्ने देखिन्छ। अन्तराष्ट्रिय प्रचलनअनुसार आन्तरिक मूल्यांकनकै आधारमा एसईईको रिजल्ट घोषणा गर्ने सकिने प्रचलन छ।
प्याब्सन अध्यक्ष टीकाराम पुरी विस्वास गर्नुहुन्छ कि “विद्यार्थीलाई सम्बन्धित विषय शिक्षकहरूले जति अरुले बुझेका हुँदैनन्, यो सत्य हो” तापनि उहाँको डर यो छ कि, “तर हरेक विद्यालयले आफ्नो धेरै विद्यार्थी राम्रो ग्रेडमा पास भएको देखाउन चाहने पो हुन् कि? विश्वासको वातावरण छैन ।” [2] यो अविस्वासको माहोल हामीमा भयावहरुपमा देखिन्छ। शिक्षकले विद्यार्थीलाई विश्वास नगर्ने, विद्यार्थीले शिक्षकलाई विश्वास नगन्ने। यही प्रवृत्ति अन्य क्षेत्रमा पनि झ्याङ्गिएको देखिन्छ। महान व्यक्तिहरू अरूको मूल्य बढाउन र अरूलाई निर्माण गर्न र विस्वास गर्न अव्यस्त हुन्छन्। अविश्वास र अरूको अवमूल्यन गर्ने काम मूल्यहीनहरूलाई नै छोड्नु राम्रो हुन्छ।
आइन्सटाइनको एउटा विचारको सारलाई यसरी भन्न रुचाउँछु, “माछा र बाँदरलाई सँगै राखेर रुख चढ्न लगाएमा माछाले आफूलाई सधैँ नै कमजोर महसुस गर्दछ।” आफ्नो भोगाइबाट मैले यो विचारलाई मेरो जीवनमा नजिकबाट महसुस गरेको छु र विश्वास गर्छु कि नेपालको विकास हुनु छ भने पहिलो कुरोः शिक्षाको गुणस्तरलाई बढाउनुपर्छ, दोस्रो कुरोः परिक्षामा चिट चोर्ने प्रवृत्ति पूरै बन्द गर्नुपर्छ, तेस्रो कुरोः सबै शिक्षण संस्थानहरूले मुख धेरै चलाउने गफाडिहरू होइन, हात धेरै चलाउने सिपालुहरू उत्पादन गर्ने लक्ष्य बोक्नुपर्छ। चौथो कुरोः अविभावक तथा देशले नतिजामुखी शिक्षा होइन, प्रक्रियामुखी शिक्षा पद्धतिलाई अंगाल्नुपर्छ।
यस छोटो लेखमा माथिका चारवटा बुँदाहरूमध्ये परीक्षामा चिट चोर्ने प्रवृत्ति बन्द गर्ने बारेमा छोटो मन्थन गर्न चाहन्छु। नेपालको उन्नति हुनु छ भने परीक्षामा चिट चोर्ने प्रवृति पूरै बन्द गर्नुपर्छ। किनकि चिट चोरेर प्रमाणपत्र बोकेको जागिरेलाई घूस खानु पानी पिउनु बराबर हुन्छ। तापनि अहिलेको ८, १०, १२ सम्मकै सबै केन्द्रीय परीक्षा प्रणालीले चिट मौलाउने मौसम बनाइ रहेको देखिन्छ। विद्यार्थी, शिक्षक, शिक्षक संस्था सबैलाई चिट धन्दातिर धकेलिरहेको देखिन्छ।
विद्या दिने गुरूलाई बाहिरको दबाव विना विद्यार्थीको स्वच्छ मूल्याङ्कन गर्ने वातावरण नबनेसम्म शिक्षाको गुणस्तरमा प्रगति हुँदैन र परीक्षा प्रणाली यसरी उचित ज्वरो नाप्न नसक्ने थर्मोमीटर बनिराख्छ। नेपालको परीक्षा प्रणाली र बिग्रेको थर्मोमीटरमा धेरै सामनता पाइन्छ। यो परीक्षा प्रणालीमा गेसपेपर घोक्ने मौसम मौलाएको छ र जीवनोपयोगी सीप सिक्ने मौसममा खडेरी परेको छ। यसले वास्तविक विद्यार्थीको खूबी नाप्न चुकिरहेको देखिन्छ।
यो मौसममा परिवर्तन ल्याउनकोलागि पहिलो कुरोः विद्यालयहरूले निरन्तर मूल्याङ्कन पद्धतिलाई (Continuous Assessment System -CAS) उच्च प्राथमिकतासाथ लागू गर्नु पर्ने देखिन्छ। यसकोलागि उचित प्रशिक्षण, स्रोत साधनको विकास र तालिमको जरूरी देखिन्छ।
दोस्रो कुरोः विद्यालय, शिक्षक, अविभावक सबैले प्रमाणपत्रको नतीजा होइन जीवन उपयोगी सीप सिक्ने वातावरण बनाउनु पर्ने देखिन्छ र विषय शिक्षकलाई बाहिरी दबावविना आफ्नो विद्यार्थीको स्वच्छ मुल्याङ्कन गर्ने वातावरण मिलाउनु पर्ने देखिन्छ। यसकोलागि विस्वासको वातावरण सृजना गर्नुपर्ने देखिन्छ।
तेस्रो कुरोः ८, १०, ११, र १२ मा यसरी तामझामकासाथ परीक्षा गर्नु पर्ने बाध्यतालाई छोडेर विद्यालयहरूलाई कक्षा १२ सम्म आन्तरिक मूल्याङ्कन गर्ने अधिकार दिनु पर्ने देखिन्छ। यसकोलागि उचित मार्ग निर्देशन तयार पार्नेु पर्ने देखिन्छ।
चौथो कुरोः नेपाल परीक्षा बोर्डले १२ कक्षा पाससँगै कलेज तयारीकोलागि एउटा कलेज तयारी परीक्षाको तय गर्नु पर्ने देखिन्छ। कलेज तयारी परीक्षा वार्षिक रूपमा एक पटक नभएर वर्षमा ३ देखि ६ वटासम्म लिने व्यवस्था गर्नु असल हुन्छ।
अन्तमा अहिलेको कोभिडको महामारीको चपेटामा रहेको बेलामा SEE परीक्षालाई रद्द गरेर विद्यालयको SEE पूर्व परीक्षाको नतिजाको आधारमा कक्षा ११ मा जाने व्यवस्था सबैभन्दा उचित देखिन्छ। नेपालको उन्नतिकोलागि मुख धेरै चलाउने गफाडीहरू होइन हात धेरै चलाउने सिपालुहरू उत्पादन गरौँ। यो असल कार्यमा हामी नथाकी निरन्तर लागि राखौँ। नेपालको परीक्षा प्रणाली ठीक तापक्रम ननाप्ने थर्मोमीटर होइन तर फेल नखाने आधुनिक थर्मोमीटर बनोस्।
स्रोतहरूः